मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रसाईंलाई पछिल्ला दिनमा दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न पक्राउ गरिएको हो।

यसअघि भदौ २९ गते झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कार्यक्रम गर्न खोजेका थिए। विमानस्थल परिसरभित्र कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरी पछि घर पठाएको थियो।

प्रसाईंका अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले कारबाहीको माग गरेकी थिइन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रसाईंले आफूविरुद्ध लगाएको आरोपको खण्डन गरेकी थिइन्।

प्रसाईंले सांसद खतिवडाले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए। उक्त आरोपको खण्डन गर्दै खतिवडा प्रतिनिधिसभामा भावुक बनेकी थिइन्।

“मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ,” उनले बैठकमा भनेकी थिइन्। सहिदले पूर्णरूपमा न्याय पाउने अवस्था भए आफू सांसद पदबाट राजीनामा दिनसमेत तयार रहेको उनको भनाइ थियो।

सांसद खतिवडाले आफू र आफ्नो परिवारमाथि गम्भीर आरोप लगाउनुअघि हजारौँपटक सोच्न प्रसाईंलाई आग्रह गर्दै उनका अभिव्यक्तिमाथि कारबाही गर्न माग गरेकी थिइन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया