सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा स्वर्गीय आमाबुवाको सम्झनामा नरीइश्वर शिव मन्दिर निर्माण गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका १० का मोति प्रसाद खनालले आफ्ना स्वर्गीय आमाबुवाको सम्झनामा शिव मन्दिर निर्माण गरेका हुन् ।
उनले बुवा टिकाराम खनाल र आमा नरिसरा खनालको स्मृतिमा सोही वडाको कुन्टीमा शिव मन्दिर बनाएका हुन् ।
मन्दिरको आइतबार पन्चमीको अवसरमा उद्घाटन समेत गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा न. १० का वडा अध्यक्ष डिल बहादुर रखालबाट मन्दिर उदघाटन गरिएको हो ।
आमाबुवाको स्मृतिमा पुजाआरधना गर्ने मन्दिर निर्माण गरेको मोति प्रसाद खनालले बताए । “आमाबुबाको स्मृतिलाई चिरस्थायी बनाउन परिवारका तर्फबाट मन्दिर बनाएका हौँ,” उनले भने ।
खनालले मन्दिर निर्माण संगै मन्दिर छेउमा रहेको प्रतीक्षालयमा थकाई मेट्न बेन्च निर्माण तथा घेरबारका लागि तारजाली समेत गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा न. १० का वडा अध्यक्ष डिल बहादुर रखालले हरेक नागरिक सामाजिक कार्यमा अग्रसर भए जनप्रतिनिधिलाई पनि काम गर्न सजिलो हुने भन्दै खनालको कामको प्रसंसा गरे।
उनले आगामी दिनमा पनि आमनागरिकहरु संगै मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
फ्याक्ट सञ्चार । २०८१ भाद्र २३ गते आइतवार