पुस १५ ; तमु ल्होछारसगैँ गुरुङ जातिको नयाँ वर्ष

सुर्खेत । आज पुस १५ गते नेपालीहरुले आ-आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् । तिथिको रुपमा नभई गतेको आधारमा मनाइने गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व आजकै दिन परेको छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

कर्णाली प्रदेशको जुम्लामा पुस १५ मनाउन विवाहित चेलीहरू माइत आउने चलन छ । यस दिन दिनभर विभिन्न परिकार पकाएर सामूहिक भोज खाने र रातभर नाचगान गर्दै रमाइलो गर्ने चलन छ । भोलिपल्ट पुस १६ गते बिहानै नजिकैको धारा वा नदीमा गएर नुहाउने चलन छ ।

आज सोमबारे औंसी

सूर्य उत्तरायण शुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीलाई नेपालीहरुले विशेष महत्वका साथ लिने गर्दछन् । यस दिन पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन तर सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्क छ ।

औंसीको दिन आज सोमबार परेकाले आज बिहानै उठेर नबोली नुहाउने र पूजाआजा गर्ने चलन समेत छ । यसो गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

पुस १५ को अन्तर्राष्ट्रिय सम्बन्ध

पुस १५ को दिन गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । तिब्बती भाषामा ‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।

मगरहरुको जीवनसाथी रोज्ने दिन

पुस १५ लाई मगर समुदायले जीवनसाथी रोज्ने पर्वको रूपमा मनाउने गरेको डा. गुरुङ बताउँछन् । उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले खुवा वा खोइ खाने चलन छ ।

यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको छ । समग्रमा भन्दा पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया