सुर्खेत । नेपाल कप अन्तरविश्वविद्यालय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ।
भारतको लखनऊ विश्वविद्यालयलाई पराजित गर्दै नेपालको मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप अन्तरविश्वविद्यालय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी उचालेर च्याम्पियन बनेको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा मध्यपश्चिमले लखनऊलाई ५८ रनले पराजित गर्दै उपाधि जित्यो।
मध्यपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ विकेटको क्षतिमा ११७ रन मात्र जोड्न सक्यो।
लखनऊका लागि ओपनर मनन कान्डपालले ५८ रन जोडे पनि अरु ब्याटर चल्न सकेनन्। बलिङमा मध्यपश्चिमका दिवान पुनले ३ विकेट लिए भने राजकुमार शाहले २ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ६ विकेटको क्षतिमा १७५ रन जोयो। ओपनिङ राम्रो हुन नसके पनि मध्यपश्चिमका लागि दिवान पुनले ३६ बलमा ५८ रन तथा विपिन खत्रीले २८ बलमा ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा भएको जय नेपाल कपमा तीन देशका आठ विश्वविद्यालयले भाग लिएका थिए।
नौं दिनसम्म भएको प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गरिएको संघको भनाइ छ।
प्रतियोगिताको विजेता मध्यपश्चिमले १५ लाख पायो भने उपविजेता लखनउले १० लाख रूपैयाँ हात पार्यो।
फ्याक्ट सञ्चार । २०८१ माघ १५ गते मङ्गलवार