काठमाडौं । आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लाे काराेबार भएको दिन अस्ति बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो ।
यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो । सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाकाे दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन ३० गते शुक्रवार