हुम्ला – सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका किसानले तरकारी खेतीबाट आम्दानी गर्न थालेका छन् । झन्डै ५६ वटा घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यता गाउँमै व्यवसायीकरुपमा तरकारी फलाउँदै आएका छन् । शुरुमा गाउँका एक–दुई जना किसानले प्लास्टिकको घर अर्थात् ग्रिनहाउस निर्माण गरी तरकारीखेती गर्दै आएका थिए । तर पछिल्ला वर्ष गाउँका सबैजसो किसान तरकारी खेतीमा लागेका छन् ।
तरकारीबाट राम्रो उत्पादन र आम्दानी हुन थालेको स्थानीय धुनसुब्बा सुनारले बताए । हप्तामा तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उनले बताए । सदरमुकाम सिमकोटमा एक मुठा साग र धनियाँको ३० रुपैयाँ तथा काउलीबन्दा किलोको ४० रुपैयाँमा बिक्री गर्दै आएको सकुन्तला शाहीले बताए । एक दिनमा दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताउछन् ।
केहीले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर तरकारी खेती गरेका छन् । कतिपय किसानलाई कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट सहयोग पनि छ । किसानलाई गुणनेवर इन्टरनेसनलले आवश्यक सहयोग र सहजिकरण गर्दै आएको संस्थाका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताए । किसानलाई प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको उनको भनाई छ ।
गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ । गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्छन् । युवा पुस्तामा तरकारी खेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका पाको उमेरका महिला तथा पुरुषले उत्पादन गर्दै आएका छन् । गाउँमा सिँचाइ सुविधा छैन । किसानले आकाशे पानीको भरमा तरकारी फलाउनुपर्ने बाध्यता छ । रासस
फ्याक्ट सञ्चार । २०८० चैत्र ९ गते शुक्रवार