वीरेन्द्रनगरमा महिलामैत्री शहर निमार्णका लागि छलफल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा महिला मैत्री शहर निर्माणका लागि दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

वीरेन्द्रनगरमा मंगलबार र बुधबार यूरोपियन यूनियन र फिन्ल्यान्ड सरकारको सहयोगमा यूनोप्स, यूएन ह्याविट्याट र सिटीज अलायन्स द्धारा सञ्चालित सिटीज फर वुमेन (महिला मैत्री शहर) परियोजनाले छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा लैंगिक सवेंदनशीलता र सहभागितामूलक निर्णय प्रक्रियाका लागि म्यानुअल र लैंगिक तथा जलवायु उत्तरदायी शहरी योजना निर्देशिकाको मस्यौदा २०८१ को विषयमा छलफल गरिएको थियो ।

नगर निर्माणको योजना बनाउँदा समुदायका सबै वर्गका नागरिकको आवाज, अनुभव र आवश्यकता बुझ्नु छलफलको उद्देश्य रहेको थियो । जसले योजना निर्माण तथा निर्णय प्रक्रियामा महिला, पुरुष, अपांगता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिक, सिमान्तकृत समुदायका व्यक्तिहरू लगायत सबै पक्षलाई ध्यान दिने र निर्णय प्रक्रियालाई सहभागितामूलक बनाउने लक्ष्य लिएको वीरेन्द्रनगरका शहरी योजनाकार सुगम गौतमले जनाए ।

यस्तो अभ्यासले नगर विकासमा नागरिकको विश्वास बढाउने र योजना कार्यान्वयनमा पनि प्रभावकारीता ल्याउने सहभागीहरूको भनाइ रहेको थियो ।

वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले समावेशी प्रयासले नगरपालिकाको योजना निर्माण प्रक्रियामा नयाँ सोच, कार्यशैली ल्याउने र समावेशी हुने विश्वास व्यक्त गरिन् । उनले नगरलाई सबैको आवश्यकता सम्बोधन हुने गरि योजना बनाउन यस्ता छलफलले सहयोग पुर्याउने समेत जनाएकी छन् । उनले भनिन्, “लैंगिक दृष्टिकोणबाट योजना बनाउन सके मात्रै सबै पक्षका आवश्यकता समेटिन्छन् ।”

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरू, प्राविधिकहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया