सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि सञ्चालनमा आएको छ।
भेरीगङ्गा नगरपालिका–५, बबईमा स्थापित उक्त प्रविधिको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले गरेका छन् ।
यो प्रविधिले सडकमा गुड्ने सवारीसाधनहरूको नम्बर प्लेट स्वतः पहिचान गरी डिजिटल प्रणालीमा दर्ता गर्नेछ, जसले ट्राफिक व्यवस्थापन, सुरक्षा निगरानी र राजस्व संकलनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कंडेलले प्रविधिको प्रयोगले कानुनी शासन र यातायात व्यवस्थापनलाई थप सहज बनाउने बताए। उनले कर्णाली प्रदेश प्रविधिमैत्री बन्न आवश्यक रहेको बताउदै यस्ता डिजिटल प्रणालीहरूले यातायात क्षेत्रमा पारदर्शिता बढाउने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेशका उच्च सरकारी अधिकारी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा नागरिकको उपस्थिति थियो।
यो प्रणाली सञ्चालनमा आएपछि कर्णाली प्रदेशमा पहिलो पटक आधुनिक ट्राफिक व्यवस्थापन प्रविधिको सुरुवात भएको छ, जसले विशेष गरी सवारी चोरी नियन्त्रण, अवैध गाडी सञ्चालन रोकथाम र सडक सुरक्षामा मद्दत गर्ने बताइएको छ।
फ्याक्ट सञ्चार । २०८१ चैत्र ७ गते शुक्रवार