आज र भोलि रगंहरुको पर्व होली मनाइँदै

सुर्खेत । आज आइतबार पहाडी जिल्लाहरूमा र भोलि सोमबार तराईका जिल्लाहरूमा रङहरूको पर्व होली अर्थात् फागु परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ ।

असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा यो पर्व मनाइने गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली मनाइने भए पनि तराई–मधेसका जिल्लाहरूमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ ।

धार्मिक तथा सांस्कृतिक सद्भावसँग जोडिएको होली पर्वले वैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्दछ।

होलीको किंवदन्ती

फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ । उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रम्हमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। तर प्रह्लादलाई केही नभएको होलीका जलेको कथामा उल्लेख छ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ।

उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको संस्कृतिविद्हरूको भनाइ रहेको छ।

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया