सुर्खेत । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको छ । हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा भने हालसम्म मतणना सुरु भएको छैन ।
भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लागेपछि मतगणनामा ढिलाइ भएको हो । हालसम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार कर्णालीका तीन निर्वाचन क्षेत्रमा कांग्रेस, एउटामा राष्टिय स्वतन्त्र पार्टी, एकमा एमाले, दुईमा नेकपा, एकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकमा प्रगतिशील लोकतान्त्रिक पार्टीले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत–१ मा १७ हजार ८५७ मत गणना हुँदा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का ६ हजार ९२३ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाही ४ हजार ९०१ मतसहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ४ हजार २५१ मतसहित तेस्रो स्थानमा रहेका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ५४२ मत प्राप्त गरेका छन् । ६६८ मत बदर भएको छ ।
यस्तै, सुर्खेत–२ मा भने हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा ४ हजार ९८२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नारायण कोइराला ३ हजार ८२१ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा ३ हजार ६५५ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल ले १ हजार ७३८ मत प्राप्त गरेका छन् ।
दैलेख जिल्लामा जारी मतगणनाअनुसार दैलेख–१ मा २८ हजार २२२ मत गणना भएको छ । जसमा १ हजार ४९१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापा ९ हजार ०५० मतसहित अग्रस्थानमा रहेकी छन् । नेकपा एमालेका रवीन्द्रराज शर्मा ८ हजार ३३९ मतसहित दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत ६ हजार ०९७ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले २ हजार २९३ मत प्राप्त गरेका छन् ।
दैलेख–२ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल २ हजार ७९९ मतसहित अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका दिक्पालकुमार शाही २ हजार २२७ मतसहित दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही ७८० मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ५८४ मत प्राप्त गरेका छन् ।
कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही ७ हजार ८४५ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका नगिन्द्र शाही ७ हजार ६१४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका हर्षबहादुर बम ५ हजार ७८३ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ३ हजार २७६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने १ हजार ६८४ मतसहित पाँचौँ स्थानमा छन् ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही ५ हजार ६२२ मतसहित अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नरेश भण्डारी २ हजार ४२० मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका दीपबहादुर शाही १ हजार १८७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले ६४४ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ७६ मत प्राप्त गरेकी छन् ।
रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा २ हजार ६५९ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा १ हजार ६८७ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका राजु केसी ले १ हजार ३२३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४१० मत प्राप्त गरेका छन् । नेकपा एमालेका नन्दराम देवकोटाले २१५ मत प्राप्त गरेका छन् ।
सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल ३ हजार २७४ मतसहित अग्रस्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द १ हजार ५१३ मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका केशबहादुर विष्टले १ हजार १४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गुलाबगंज शाहले ९५१ मत प्राप्त गरेका छन् ।
यस्तै जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा ४ हजार ७०२ मतसहित अग्रस्थानमा रहेका छन ्। उनलाई नेकपा एमालेका डम्बरबहादुर सिंह ४ हजार १५४ मतसहित पछ्याइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत ३ हजार १५२ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले ४३२ मत प्राप्त गरेका छन् ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार