इनिशा विक घटनापछि साहिद पार्क क्षेत्रमा स्थायी सुरक्षाको माग

Screenshot

सुर्खेत । वीरेन्द्रनगरस्थित साहिद पार्क तथा आसपासको वन क्षेत्रमा स्थायी प्रहरी सुरक्षा व्यवस्था मिलाउन, प्रहरी बिट स्थापना गर्न र नियमित गस्ती बढाउन माग गरिएको छ ।

साहिद पार्क तथा आसपासको सामुदायिक वन क्षेत्रमा बढ्दो असुरक्षा र आपराधिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ‘द काउन्सिल अफ जेन जी’ले प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएको हो ।

संस्थाका संयोजक प्रकाश खड्काको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)मा पठाइएको छ ।

ज्ञापनपत्रमा साहिद पार्क सार्वजनिक स्थल भएकाले यहाँ नागरिक, युवायुवती तथा विद्यार्थीहरूको दैनिक आवतजावत हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउन आवश्यक रहेको बताइएको छ । पर्याप्त सुरक्षा निगरानी र प्रहरी उपस्थितिको अभावका कारण सो क्षेत्रमा आपराधिक गतिविधि र दुःखद घटनाको जोखिम बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।

हालै सोही क्षेत्रमा १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनापछि स्थानीयमा असुरक्षाको भावना बढेको उल्लेख गरिएको छ ।

नागरिकको सुरक्षाप्रति राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै संस्थाले सम्बन्धित निकायलाई विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको  छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया