इनिशा विक प्रकरण : विद्यार्थीहरू न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा

सुर्खेत । वीरेन्द्रनगरस्थित उषा बालबाटिकामा अध्ययन गर्ने विद्यार्थीहरू १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा न्यायको माग गर्दै आन्दोलित बनेका छन् 

कक्षा ११ मा अध्ययनरत आफ्नै साथीहरु इनिशाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

इनिशाका सहपाठी तथा विद्यालयका विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटअगाडि धर्ना दिँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

उनीहरूले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनका क्रममा केही समय विद्यार्थीहरू विद्यालयअगाडि समेत धर्नामा बसेका थिए । आफ्नै साथीको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थीहरूले निष्पक्ष छानबिन बिना घटनालाई ढाकछोप गर्न नहुने बताएका छन् ।

गत २३ फागुनमा वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोष्टमार्टम रिपोर्ट अनुसार शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख छ । घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र त्यसपछि रक्तस्राव भई अचेत भएको बयान प्रहरीसमक्ष दिएका छन् ।

इनिशाको मृत्यु प्रकरणपछि नागरिक समाज, अधिकारकर्मी तथा स्थानीयहरूले निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै आवाज उठाइरहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया