सुर्खेतमा श्री कालीबहादुर गणको सैन्य आधार तालिम सम्पन्न, १०८ जना दिक्षित

सुर्खेत । सुर्खेतमा श्री कालीबहादुर गणमा सञ्चालित सि.सं ३८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज श्री कालीबहादुरगणको खेलमैदानमा आयोजित कार्यक्रममा सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वारका पृतनापति (उपरथी) दिपेश जंग शाहले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरूद्वारा प्रस्तुत अन्तिम दलेल कवाजको निरीक्षण गरेका थिए । सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै १ सय ८ जना जना सैन्यहरू दीक्षित भएको श्री कालीबहादुर गणका गणपती बासु खत्रीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी दिपेश जंग शाहले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भए मात्र देश बलियो हुने बताए । “राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो,” उनले भने, “तालिम प्राप्त गरी सेना प्रवेश गर्नुभएका तपाईँहरू सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।”

उनले नेपाली सेनाले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध भएर काम गरिरहेको उल्लेख गर्दै सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको बताए। उनका अनुसार नयाँ पुस्ताले नविनतम सोच र भविष्यमा आउन सक्ने चुनौतीहरूको मूल्याङ्कन गर्ने क्षमता विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।

त्यस अवसरमा तालिममा सहभागी  सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने जवानहरूलाई उपरथीले पुरस्कार वितरण गरेका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया