सुर्खेत । कर्णाली प्रदेशमा सरकारको मुख्यमन्त्रि पदमा दाबी पेस गर्ने समय आज सकिँदै छ ।
कर्णाली प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले आज साँझ ५ बजेर ५० मिनेट भित्रमा मुख्यमन्त्रि पदका लागि दाबी पेस गर्न समयसीमा तोेकेका छन् । प्रदेश प्रमुख परियारले चैत्र २१ गत्ते समयसीमा तोकेका थिए । ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कर्णालीमा पनि सरकार परिवर्तन भएको हो । सुरुमा राजीनामा नदिने अडानमा रहेका शर्मा प्रचण्डको दबाबपछि पछि हटेका थिए ।
तर, प्रदेश सरकार गठनको विषयमा एमाले र माओवादीबीच कुरा मिल्न नसक्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको हो । एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने पक्कापक्की भए पनि मन्त्रालय भागवण्डालगायतका विषय भने टुंगिन बाँकी छ ।
कँडेलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा २१ सांसद चाहिन्छ । एमालेका १० तथा माओवादी केन्द्रका १३ सांसद छन् । त्यस्तै एकीकृत समाजवादीको १ सिट जोड्दा गठबन्धन बहुमत जुटाउन सक्ने अवस्थामा छ ।
उता कांग्रेसका १४ तथा राप्रपाका १ र १ स्वतन्त्र सांसद प्रदेशसभामा छन् ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २७ गते मङ्गलवार