सिंजामा बहुप्राविधिक शिक्षालय बनाउने प्रक्रिया सुरू

पहिलो चरणमा जग्गा प्राप्तिको काम अघि बढेकाे छ । गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार हाल सम्म १७ हजार १ सय ६५ बर्गमिटर जग्गा प्राप्त भइसकेकाे छ । स्थानीयले नि:शुल्क जग्गा प्रदान गरेपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको उनको भनाइ छ ।

आँगनमै बहुप्राविधिक शिक्षालय बन्ने भएपछि स्थानीयले खुसीका साथ जग्गा दिएका हुन्। साधारण शिक्षा पढ्न समेत कठिन हुने दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा पठनपाठन हुनुले खुसी तुल्याएको स्थानीय सुनाैलाे क्षेत्रीले बताए ।

विकट बस्तीमा प्राविधिक शिक्षालय स्थापना सरकारले आफ्नै लगानीमा गर्दा विपन्नका छोराछोरीकाे प्राविधिक शिक्षामा सहज पहुँच हुने अपेक्षा गरिएको छ । प्राविधिक शिक्षा पढ्न सिंजाबासीले सुर्खेत, नेपालगन्ज र काठमाडौं लगायतका महंगाे ठाउँमा जानू पर्ने बाध्यता थियाे ।

‘पहिलाे चरणमा सीटीईभीटीबाट अनुमति प्राप्त गर्न सफल भयाैं । त्यसपछि जग्गा प्राप्ति गर्न सफल भयाैं,’ अध्यक्ष धितालले भने, ‘अब सरकारबाट बजेटकाे जाेहाे गरेर प्राविधिक शिक्षा पढ्ने सिजाली विद्यार्थीकाे सपना पूरा गर्न समेत सफल हुनेछाैं ।’

उनका अनुसार प्राविधिक शिक्षालय बनाएर‌ै छाड्ने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा पढाउने लगायतको सहमतिपछि स्थानीयबासी जग्गा दिन राजी भएका छन् ।

‘प्राविधिक शिक्षाले मान्छेलाई काम गरी खाने बनाउँछ। रोजगारीसमेत सिर्जना गर्ने प्राविधिक शिक्षा उत्पादनमुलक हुने भएकोले सिंजाले प्राविधिक शिक्षालय प्राथमिकतामा राखेकाे हाे,’ अध्यक्ष धितालले भने।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेछ। आङ्गिक शिक्षालयका रूपमा प्राविधिक शिक्षालय बन्नेछ ।

‘आज हामी बहुप्राविधिक शिक्षालयको नाममा जग्गा लिन सफल भएका छौं। अब चाँडै नै भर्ना लिने तयारी गरिरहेका छाैं,’ उनले भने।

बहु प्राविधिक शिक्षालयका लागि सिंजा गाउँपालिका- ६ भाडगाउँका दुई सय जनाले एक लाख बर्गमिटर जग्गा दिने भएका छन् । आगामी शैक्षिक सत्रदेखि पठनपाठन सञ्चालन गर्ने गरी भाैतिक संरचना निर्माणका कामहरू अघि बढाउने तयारी भइरहेको अध्यक्ष धितालले बताए ।

‘कृषि र पर्यटन विषय अनिवार्य पढाइ हुनेछ,’ अध्यक्ष धितालले भने, ‘अरू बिषय, जनता, अभिभावक, विद्यार्थी, उपलब्ध प्रतिष्ठित व्यक्तिहरू, नागरिक समाजसँग व्यापक छलफल गरेर उनीहरूकाे रायअनुसार पढाइने छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया