सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन्।
आज बुधवार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट प्रदेश प्रमुखले कँडेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधवार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसैबीच पदभार ग्रहण गर्दै कँडेलले सबै निकायका व्यक्तिहरूसँगको सहकार्यमा कर्णालीको समृद्धिको पक्षमा काम गर्ने बताएका छन् । उनले आवश्यकता अनुसार सबै कुरा बुझेर छलफल गरि काम गर्ने बताए ।
साथै उनले सरकार गठनको विषयमा छलफल भइरहेको समेत बताएका छन् । सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेलले आज एक्लै शपथ लिएका थिए ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २८ गते बुधवार