आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ ।

जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्छ । यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् ।

रामनवमीका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया