सुर्खेत । सुर्खेतमा आज देखि बालबालिकालाई दिईने पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन भएको छ ।
आज आइतबार नेपाल पुलिस स्कुल सुर्खेतमा कक्षा ३ मा अध्ययन गर्ने छात्रा इन्सु बुढालाई खोप लगाई आईपीभी खोप अभियान सुर्खेतमा सञ्चालन गरिएको हो ।
देशभर आज देखि सञ्चालन हुने अभियान सुर्खेतमा भने नेपाल पुलिस स्कुल देखि सञ्चालन गरिएको हो ।
देशभर जेठ १३ देखि २६ गतेसम्म पोलियो रोग विरुद्धको खोप लगाईने भएता पनि सुर्खेतमा भने यही जेठ १६ गत्ते देखि २५ गत्ते सम्म दुई चरण गरि सञ्चालन हुनेछ ।
जिल्लाका भेरीगंगा नगरपालिका ,लेकबेसी नगरपालिका र चिङ्गाड गाउँपालिकामा १६ गत्ते देखि १८ गत्ते सम्म सञ्चालन हुनेछ भने वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सीम्ता गाउँपालिका, बराहताल गाउँपालिका ,पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा भने यहि जेठ २२ गत्ते देखि २५ गत्ते सम्म सञ्चालन हुने भएको हो ।
अभियानमार्फत सुर्खेत जिल्लाका २० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।
पालिका अनुसार दुई चरणमा लगाईने यो खोप विद्यालयबाट दिईने गौतमले जानकारी दिए ।
सुर्खेतका ३५१ खोपकेन्द्रबाट २० हजार बालबालिकालाई ओपिभी खोप लगाईदै छ । ।
पोलियो रोग विरुद्ध दुई किसिमका खोपहरु दिईन्छ । ओरल पोलियो भ्याक्सिन (ओपिभी) र ईनएक्टिभेटड पोलियो भ्याक्सिन (आईपिभी) भ्याक्सिनहरु दिईन्छ । यसपटकको अभियानमा आईपिभी खोप दिन लागिएको हो । ओपिभी खुवाईन्छ भने आईभी सिरिन्ज मार्फत दिईन्छ ।
२०७१ सालदेखि नेपालमा पोलियो रोग विरुद्ध खोप दिन थालिएको हो । २०७३ जेठ देखि २०७५ भदौंसम्म यो खोप अभाव भएको थियो । त्यसैले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई यस पटक खोप लगाईने युनिसेफका प्रतिनिधी सिताराम रिमालले बताए ।
उनका अनुसार देशभर १४ लाख ६२ हजार बालबालिकालाई यो अभियान अर्न्तगत खोप लगाईदैछ ।
सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बताईन् ।
खोप लगाउँदा सामान्य किसिमका लक्षणहरु देखिन सक्ने भन्दै त्यसबाट हतोत्साहित नहुन जनस्वास्थ्य सेवा कार्यालयले नागरिकलाई अपिल गरेको छ । कार्यालयका अनुसार खोप लगाएको ठाउँमा रातो देखिने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिने गर्छन् ।
पोलियोमुक्त नेपालमा किन दिईन्छ यो खोप?
नेपाल पोलियोमुक्त देश घोषणा भईसकेको छ । वि.सं. २०७० चैत १३ मा दक्षिण पूर्वी एसियाका धेरै मुलुकहरु पोलियोमुक्त घोषणा भएका थिए । सोही क्रममै नेपालले पनि पोलियोमुक्त मुलुकको प्रमाणपत्र पाएको थियो ।
विश्वमै पोलियो संक्रमण कायम रहेका देशहरु अफगानस्तान र पाकिस्तान दुई ओटा मात्रै छन् । यी बाहेकका देशमा पोलियो संक्रमितको संख्या शुन्य छ । तर, खोप भने निरन्तर दिईरहेका छन् ।
खोप कमजोर भएका मुलुकहरु बढी जोखिममा हुने भएकाले नेपालमा निरन्तर खोप लगाईरहेको युनिसेफका प्रतिनिधि रिमालले जानकारी दिए ।
विश्वबाटै पोलियो उन्मुलन नहुन्जेलसम्म नेपालमा पनि खोप निरन्तर भईरहने जनाइएको छ ।
यो रोग जोकोहीमा संक्रमण हुनसक्ने भएपनि पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमण व्यक्तिलाई पक्षघात हुने र ५ देखि १० प्रतिशत सम्म मृत्यु समेत हुने गरेका छन् ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ १३ गते आइतवार