जुम्ला । जुम्लामा यस वर्षको शैक्षिक सत्र सुरु नहुँदै नै पाठ्यपुस्तक विद्यालयमा पुगेका छन। विगतमा सत्र सुरु भइसकेपछि मात्र किताब वितरण हुने जुम्लामा पछिल्ला दुई वर्षदेखि समयमै पुस्तक आपूर्ति हुन थालेको छ।
पुस्तकको ढिलाइले अघिल्लो वर्षहरूमा अध्ययन प्रभावित हुने गरे पनि अहिले समयमै वितरण हुन थालेपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरू सन्तुष्ट देखिन्छन्। पुस्तक व्यवसायीहरू पनि जिम्मेवारीका साथ काममा जुटेका छन्।
सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काका अनुसार चैत १७ गते नै कक्षा १ देखि ५ सम्मका १५ सय सेट र कक्षा ६ देखि १० सम्मका २ हजार सेट पुस्तक आइपुगेका छन्। आठ विद्यालयले पुस्तक लिइसकेका छन् भने बाँकी माग पनि आइरहेको छ। शिक्षक आन्दोलनका कारण अहिले बिक्री कम भए पनि विद्यालय खुलेपछि माग बढ्ने उनले बताए।
खलंगाको जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीसँगै कनकासुन्दरीको दर्पण स्टेसनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेसनरीले पनि पुस्तक वितरणमा सक्रियता देखाएका छन्।
हाल जुम्लामा १४५ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन्, र सबै विद्यालयहरूमा आवश्यक पुस्तक पुर्याउने तयारी गरिएको छ।
देशभर वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। जुम्लामा पनि दुई वर्षदेखि यही मितिबाट सत्र सुरु हुने परिपाटी जारी छ। समयमै किताब उपलब्ध भएपछि विद्यार्थीहरू बिना बाधा नियमित पठनपाठनमा जुट्न पाउने भएका छन्।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २७ गते बिहिवार