सुर्खेत । सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का ८ हजार ७ मतान्तरणले विजयी भएका छन् । खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै नेकपा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह १४ हजार ७२९ मत सहित तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २ हजार ८२८ मत पाएका छन् । यस निर्वाचनमा ८,०७ मतको मतान्तर रहेको छ।
विष्णुबहादुर खड्का यस क्षेत्रबाट पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । राजनीतिमा लामो समयदेखि सक्रिय खड्का हाल नेपाली कांग्रेस सुर्खेत उपसभापति समेत रहेका छन् । २०३६ सालमा बहुदलको पक्षमा उनी सक्रिय थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलनको नेतृत्व गरेका थिए। त्यस समयमा उनी ११ दिन र २६ दिन हिरासतमा बसेका थिए ।
व्यावसायिक क्षेत्रमा पनि सक्रिय खड्का अहिले माया अस्पतालका सञ्चालन हुन् । २०५० सालदेखि मध्यपश्चिम यातायात व्यवसायी संघको संस्थापक र २३ वर्षदेखि नेतृत्व गर्दै आएका उनी मध्यपश्चिम यातायात प्रालिको अध्यक्ष र यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष समेत भइसकेका छन् । उनी यातायात, अस्पताल, पेट्रोल पम्प र औषधी डिलर क्षेत्रमा पनि सक्रिय छन् । नेपाली कांग्रेसको १०औँ महाधिवेशनमा वडा सभापति निर्वाचित भएका खड्का १४औँ महाधिवेशन प्रतिनिधि तथा जिल्ला उपसभापति समेत बनेका हुन् ।
सुर्खेत–१ का कुल मतदाता संख्या १ लाख २२ हजार ९०२ मध्ये ७० हजार १६७ मत खसेको थियो।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २३ गते शनिवार