कोपिला भ्याली स्कुल विश्वका उत्कृष्ट १० विद्यालयको सूचीमा

सुर्खेत। सुर्खेतको कोपिला भ्याली स्कुललाई टिफोर एजुकेशन संस्थाले विश्वका उत्कृष्ट १० विद्यालयको रूपमा छनोट गरेको छ।

लण्डनस्थित संस्थाले सार्वजनिक गरेको सूचीमा नेपालको प्रतिनिधित्व गर्दै कोपिला भ्याली स्कुलले स्थान बनाएको हो। विश्वभरका सयौं विद्यालयहरूमध्ये प्रतिस्पर्धा गर्दै उत्कृष्ट सूचीमा पर्न सफल भएको यो उपलब्धिले नेपालका लागि गौरवको विषय बनेको छ।

टिफोर एजुकेशनले सार्वजनिक मतदान (भोटिङ) प्रणालीमार्फत उत्कृष्ट विद्यालय छनोट गर्ने प्रक्रिया अघि बढाएको छ। विद्यालयको गुणस्तरीय शिक्षा, वातावरणप्रतिको प्रतिवद्धता र सामाजिक उत्तरदायित्वका आधारमा उत्कृष्ट १० को सूची तयार गरिएको संस्थाले जनाएको छ।

कोपिला भ्याली स्कुलले विगत केही वर्षयता वातावरणीय संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। प्लास्टिकमुक्त अभियान, वृक्षारोपण कार्यक्रम, फोहोरमैला व्यवस्थापन र वातावरणमैत्री पाठ्यक्रममार्फत विद्यालयले दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

विद्यालय प्रशासनका अनुसार शिक्षा र वातावरणलाई समावेश गर्दै विद्यार्थीलाई व्यवहारिक सिकाइमा जोड दिनु यस विद्यालयको मुख्य विशेषता हो।

विद्यालयले डिजिटल शिक्षा, जीवनोपयोगी सीप सिकाइ, स्थानीय स्रोतको उपयोग, र समुदायसँगको सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया