सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर वृद्धि गर्‍यो

काठमाडौं। सरकारले मदिरा, सुर्तीजन्य पदार्थ, वियर र चुरोटमा कर वृद्धि गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्यमा हानिकारक मानिएका यी वस्तुहरूको खपत घटाउन र राजस्व स्रोत सुदृढ गर्न कर दर बढाइएको स्पष्ट पारे।

“स्वास्थ्यमा प्रतिकूल असर पार्ने मदिरा, सुर्ती, चुरोट, वियर लगायतका वस्तुमा कर वृद्धिको व्यवस्था गरिएको छ,” अर्थमन्त्री पौडेलले संसदमा भने, “यसबाट राजस्व वृद्धि हुनुका साथै जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।”

सरकारको यो कदमलाई जनस्वास्थ्यसँग सम्बन्धित नीति तथा रणनीतिसँग जोडेर हेरिएको छ। स्वास्थ्य विशेषज्ञहरूले पनि कर वृद्धिले सुर्तीजन्य तथा मद्यपदार्थको प्रयोगमा केही हदसम्म कमी ल्याउने विश्वास व्यक्त गर्दै आएका छन्।

अब लागू हुने नयाँ करदर तथा विस्तृत विवरणहरू भने आगामी बजेट दस्तावेजमा उल्लेख गरिएको छ, जसअनुसार सम्बन्धित उद्योग तथा व्यवसायहरूलाई थप कर भार व्यहोर्नुपर्नेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया