काठमाडौं। नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।
बुधबारको तुलनामा आज सुनको मूल्यमा ३ हजार ६ सय रुपैयाँको वृद्धि भएको हो। अघिल्लो दिन अर्थात् बुधबार, छापावाला सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मा कारोबार भएको थियो।
सुनको मूल्यमा देखिएको यस उछालको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको चपेटा हो। विशेषगरी अमेरिका र चीनबीच चर्किँदो व्यापारिक युद्धका कारण लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ आकर्षित भएका छन्। सुनलाई सधैँ ‘सुरक्षित लगानी’ को रुपमा लिइने भएकाले यस्तो अस्थिरताको समयमा यसको माग बढ्न गएको विश्लेषकहरू बताउँछन्। यही अन्तर्राष्ट्रिय प्रभावले नेपाली बजारमा समेत मूल्य आकासिन पुगेको हो।
विशेषज्ञहरूका अनुसार यदि अन्तर्राष्ट्रिय स्तरमा तनाव झन् बढ्दै गयो भने आगामी दिनहरूमा सुनको मूल्य अझै माथि जान सक्ने सम्भावना छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ४ गते बिहिवार