नेप्से २७२२ अंकमा उक्लियो, पौने ११ अर्बको सेयर कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.४९ अंकले उक्लिँदै २७२२.०४ अंकमा पुगेको छ। कारोबारको क्रममा नेप्से एक समय २७४० अंकसम्म पुगेको थियो।

बजारसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। बिहीवार कुल कारोबार रकम १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ७ अर्ब २६ करोडको तुलनामा झण्डै ४ अर्बले बढी हो।

आजको कारोबारमा व्यापार समूह बाहेक सबै सूचक सकारात्मक रहे। लगानी समूहले सबैभन्दा ठूलो २.९९ प्रतिशतको वृद्धि देखाएको छ। त्यस्तै, बैंकिङ १.१४, विकास बैंक १.३५, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, निर्जीवन बीमा ०.९६ प्रतिशतले बढेका छन्। माइक्रोफाइनान्स, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र अन्य समूहहरू पनि हरियो रहे।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सका सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो। त्यस्तै, एचआईडीसीएलको सेयर मूल्य ६.८२ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ६.६७ प्रतिशत, र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशतले बढेको छ।

यता, बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा ४.४ प्रतिशतको गिरावट आएको छ।

आजको दिन सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर लिमिटेड को सेयरमा भएको छ। कम्पनीको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबारका हिसाबले दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर रहँदा, एचआईडीसीएल, ङादी ग्रुप, र राधि विद्युत् क्रमशः अगाडि रहे।




फेसबुकबाट तपाईको प्रतिक्रिया