कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु, स्थानीयको आक्रोश: कर्णाली राजमार्ग र विद्युत सेवा अवरुद्ध

कालिकोट। दैलेखको आठबिस नगरपालिका राकम निवासी २९ वर्षीय नगेन्द्रबहादुर माझीको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयले विद्युत कार्यालयको लापरवाहीको विरोधमा कर्णाली राजमार्ग र विद्युत सेवा अवरुद्ध गरेका छन्।

आइतबार दिउँसो घाँस काट्न गएका माझीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनापछि आक्रोशित स्थानीयवासीले विद्युत कार्यालयको लापरवाहीलाई दोष दिंदै आइतबारदेखि विद्युत सेवा बन्द गराएका छन् भने सोमबार बिहानदेखि कर्णाली राजमार्गसमेत अवरुद्ध गरेका छन्।

प्रदर्शनकारीले सडकमा टायर बालेर नारा जुलुस गरिरहेका छन्। स्थानीय सुरेन्द्र कार्कीका अनुसार प्रहरी टोलीले सडक खुलाउने प्रयास गरे पनि सफल हुन सकेको छैन। “पूरै गाउँ सडकमा उत्रिएको छ, अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन,” उनले बताए।

विद्युत अवरोधका कारण कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लाहरू अन्धकारमा छन्। खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बरालका अनुसार विद्युत अभावले कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ। “हिजोदेखि सम्झौताका कामहरू रोकिएका छन्,” उनले भने।

जिल्लाका एफएम रेडियोहरू पनि बन्द भएका छन्। वैकल्पिक स्रोत नहुँदा सामुदायिक रेडियोहरू सञ्चालनमा आउन सकेका छैनन्। रेडियो प्रदेश आवाजका सञ्चालक समिति अध्यक्ष रत्नबहादुर कार्कीले भने, “सोलारबाट दुई घण्टा मात्र रेडियो चल्थ्यो, त्यसपछि बन्द गर्नु परेको छ।”

स्थानीयवासीले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन विद्युत कार्यालय तयार नहुँदा आन्दोलन चर्किएको जनाएका छन्। कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। रास्कोट ९ का अम्मरराज बरालले सुर्खेत जाँदै गर्दा बाटो बन्द भएको जानकारी पाएपछि अन्योलमा परेको बताए।

विद्युत कार्यालय कालिकोटका प्राविधिक जयप्रसाद पाण्डेका अनुसार पीडित पक्षसँग संवाद भइरहेको छ। “सहमतिका लागि प्रयास भइरहेको छ। क्षतिपूर्तिको विषयमा कुरा मिलाउन केही समस्या छ, किनकि पीडित पक्षले बढी माग गरेका छन्,” पाण्डेले बताए। आफू काठमाडौंमा भए पनि फोनमार्फत समन्वय जारी रहेको उनले जानकारी दिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया