सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी जेठमा सुर्खेतमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुनुमा प्रदेशको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्। उनले प्रतियोगिता रोकिएको सम्पूर्ण दोष संघीय सरकारलाई दिएका छन्।
शुक्रबार खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि मुख्य जिम्मेवारी संघीय सरकारको भएकाले तयारीमा आएको ढिलासुस्तीको जिम्मा केन्द्र सरकारले लिनुपर्ने जनाए ।
मिति पटक–पटक सर्ने अवस्थाबारे आफूले पटकपटक मन्त्रालयलाई ध्यानाकर्षण गराएको पनि उनले उल्लेख गरे।
खेलकुद मन्त्रालयले तयारीमा स्पष्टता नदेखाएको अनुभव गरेको बताउदै उनले सचिवालय स्थापना गरेको भएतापनि काम देखिनेगरी अगाडि बढ्न नसकेको बताए ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट गरे। तर, खेलकुद परिषद्को पूर्णता दिन नसक्नु र आयोजक केन्द्र सरकार भएकाले आफूमाथि जिम्मेवारी नआएको बताउँदै पन्छिन खोज्नु उनको व्यवहारमा दोधार देखिएको विश्लेषण गरिएको छ।
प्रदेश रंगशाला निर्माणको विषयमा पनि मुख्यमन्त्री कँडेलले काम सकिएपछि हस्तान्तरण भएमा भुक्तानी दिन प्रदेश सरकार तयार रहेको बताए। “निर्माण कम्पनी कहिले १ प्रतिशत काम बाँकी छ भन्छ, कहिले सकियो भन्छ। तर हस्तान्तरण गरिएको छैन,” उनले भने, “काम पूरा भई रंगशाला हस्तान्तरण भएपछि बाँकी रकम दिन हामी तयार छौँ।”
त्यस्तै, उनले निर्माण व्यवसायीहरूलाई काम सकिएको भन्दै रंगशाला हस्तान्तरण नगरी बाहानाबाजी गरिरहेको आरोप पनि लगाए। साथै रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा चाँडै नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी पनि उनले दिए।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ५ गते शुक्रवार