काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा सरेको भन्ने सूचना भ्रामक भएको भन्दै परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने स्पष्ट पारेको छ।
शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै बोर्डले यही वैशाख ११ गतेदेखि परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको हो।
“कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना बोर्डको लेटरप्याड र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरी फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बोर्डले यस प्रकारका झूठा सूचना फैलाउनेलाई साइबर कानुनअनुसार कानुनी कारबाही अघि बढाइएको जानकारी दिएको छ। “परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो कार्य क्षम्य छैन,” विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, बोर्डले परीक्षा वातावरण सहज बनाउन सबै शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनलाई समन्वय र सहकार्य गर्न आग्रह गरेको छ। “परीक्षा सुचारु गर्न सबैको सहकार्य आवश्यक छ,” बोर्डले अपिल गरेको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ५ गते शुक्रवार