कर्णाली याक्सका खेलाडी बिपिन शर्मा सम्मानित

सुर्खेत । कर्णाली याक्सका उदयीमान खेलाडी बिपिन शर्मा सम्मानित भएका छन्।

 सोमबार न्यु मिरर कम्प्युटर इन्स्टिच्युट सुर्खेतले बिपिनलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्दै उनको निरन्तर अभ्यास र समर्पणले उनलाई कर्णाली मात्र नभई राष्ट्रियस्तरको सम्भावनाशील खेलाडी बनाएको उल्लेख गरेको छ।

न्यु मिरर कम्प्युटर इन्स्टिच्युट सुर्खेतका संस्थापक मनोज एमसीले बिपिनलाई नगद हस्तान्तरण गर्दै आगामी तीन वर्षसम्म प्रत्येक वर्ष एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरे। बिपिनका शिक्षकसमेत रहेका एमसीले भने, “जब गुरूले आफ्नो शिष्यको सपना देख्छन्, त्यो सपना साँचो बन्ने बाटो आफैं बन्छ।” उनले प्रतिभा र मेहनतको सम्मान गर्नुपर्ने संस्कृति निर्माणमा योगदान दिन आफूले यस्तो सहयोग अघि सारेको बताए।

कर्णालीको कठिन भौगोलिक अवस्थाबीच बिपिनले अनुशासन, निरन्तर अभ्यास र दृढ इच्छाशक्तिको आधारमा छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका छन्।

उक्त सम्मान र सहयोगले बिपिन व्यक्तिगत रूपमा लाभान्वित हुने मात्र होइन, अरू युवा खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्वबोधसहितको यस्तो पहलले कर्णालीको खेल क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया