कर्णाली प्रदेशको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गर्नका लागि प्रदेशसभाको अधिवेशन २८ वैशाख बाट सुरु हुने भएको छ।

आइतबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गतको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो। त्यसपछि सरकारका तर्फबाट यो पहिलो अधिवेशन आह्वान गरिएको हो जुन पूर्ण रूपमा बजेट केन्द्रित हुनेछ।

उक्त अधिवेशनमा सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ र त्यसको छलफल तथा अनुमोदनपछि आगामी आर्थिक वर्षको पूर्ण बजेट प्रस्तुत हुनेछ।

त्यसैगरी, आइतबारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

सरकारले आन्तरिक तयारी तीव्र पारिसकेको बताइएको छ। यसपटकको बजेटमा समावेशिता, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि प्रवर्द्धन, जलवायु अनुकूल कार्यक्रम तथा सुशासनलाई प्राथमिकता दिइने जनाइएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया