वृद्ध भत्ता पाउने उमेर ७० वर्ष

काठमाडौं । सरकारले वृद्ध नागरिकका लागि प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा नयाँ व्यवस्था ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम गरिएको घोषणा गरेका हुन्।

अर्थमन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुझाव आयोगको सिफारिसअनुसार वृद्ध भत्ताको व्यवस्था परिमार्जन गरिएको जानकारी दिए। “उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका नागरिकहरूले ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था मिलाएको छु,” उनले संसदमा बजेट प्रस्तुत गर्दै भने।

हाल दुर्गम क्षेत्रका नागरिकहरू र लक्षित वर्गमा पर्ने ज्येष्ठ नागरिकहरूलाई भने पहिलेको जस्तै उमेर सीमामा नै भत्ता उपलब्ध हुने व्यवस्था कायम रहनेछ।

सामाजिक सुरक्षा भत्ता र त्यसको वित्तीय भारबारे पछिल्ला दिनहरूमा व्यापक बहस हुँदै आएको थियो। संसददेखि अदालतसम्म यो विषयले चासो पाउँदै आएको हो। आयोगले आगामी पाँच वर्षसम्म भत्ता नबढाउन र भत्ता पाउने उमेरसीमा वृद्ध गरिनुपर्ने सुझाव दिएको थियो, जुन सरकारको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको छ।

सरकारको यो निर्णयले सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रुपमा वित्तीय रूपमा दिगो बनाउने उद्देश्य राखेको बताइएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया