सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्ताव गरिएको ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले लामो राजनीतिक तनाबपछि बजेट पारित गरेको हो।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहले बजेट प्रस्तुत गरेसँगै प्रदेशको राजनीतिक वातावरण तनावपूर्ण बनेको थियो। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले बजेट निर्माण प्रक्रियामा गम्भीर त्रुटि रहेको र योजना छनोटमा सत्तारूढ पक्षका व्यक्तिहरूको स्वार्थपूर्ण भूमिका रहेको आरोप लगाउँदै आएको थियो।
यसै आधारमा माओवादी केन्द्रले निरन्तर रूपमा प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको थियो, जसले बजेटलाई विवादित बनायो। पटक–पटकको अवरोधपछि अन्ततः मुख्यमन्त्री यमलाल कँडेलले पहल गर्दै प्रमुख प्रतिपक्षसँग संवादको थालनी गरे।
दुबै पक्षबीच पटक–पटक छलफल भई अन्ततः सहमति जुटेको थियो। सोही सहमतिअनुसार शुक्रबारको बैठकमा बजेटमाथि छलफल टुंग्याउँदै सर्वसम्मत रूपमा पारित गरिएको हो।
फ्याक्ट सञ्चार । २०८२ असार २१ गते शनिवार