सुर्खेत ।कर्णाली प्रदेशको विकास समस्या समितिको बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा प्रदेशस्तरीय विकास समस्या समाधान समितिबाट केन्द्र सरकारको राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्ताव गर्नुपर्ने विषयवस्तुहरू र तिनको सम्भावित समाधानबारे छलफल भएको छ।
बैठकमा प्रदेशका प्रमुख आयोजना तथा कार्यक्रमहरूमा देखिएका अवरोधहरू, तिनको कार्यान्वयनको अवस्था र न्यून प्रगति भएका आयोजनाको समुचित समाधानका लागि हालसम्म गरिएका प्रयासहरूको समीक्षा गरिएको थियो।
बैठकले कर्णाली प्रदेशभित्र सहज र प्रभावकारी विकास कार्यान्वयनका लागि केन्द्र सरकारले लिनुपर्ने नीति तथा निर्णयहरूबारे पनि सुझाव संकलन गरेको छ। विशेषगरी संघीय सरकारबाट कर्णालीमा सञ्चालन भइरहेका मुख्य आयोजनाहरू जसमा राष्ट्रिय गौरवका आयोजना समेत छन् र कार्यान्वयनमा देखिएका समस्या समाधानका उपायहरूबारे सुझाव तयार पारिएको छ।
प्रदेश सरकारको सहजीकरणमा सञ्चालन भइरहेका यस्ता आयोजनाहरूको हालको अवस्था, प्रगति विवरण र समसामयिक चुनौतीहरूको विस्तृत प्रतिवेदन समितिमा पेस गरिएको छ।
बैठकमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय अभावले विकास आयोजनामा परेको असरबारे पनि चर्चा गरिएको छ। निर्माणमा ढिलाइ, बजेट विनियोजनमा समस्या, वातावरणीय स्वीकृति तथा स्थलगत विवाद लगायतका समस्या समाधानका लागि अन्तर तहगत समन्वयलाई मजबुत बनाउनु पर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा विभिन्न मन्त्रालय, आयोजना कार्यान्वयन इकाई, तथा योजना आयोगका पदाधिकारीहरूको उपस्थिति थियो।
यस बैठकका निष्कर्षहरू समेटेर संघीय सरकारको राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रतिवेदन पठाउने तयारी भइरहेको समितिले जानकारी दिएको छ।
फ्याक्ट सञ्चार । २०८२ असार २१ गते शनिवार