कर्णालीमा प्रतिनिधिसभा निर्वाचनका लागि १३८ जनाको मनोनयन दर्ता

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा १ सय ३८ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग कर्णाली प्रदेशका अनुसार प्रदेशभर १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कुल १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्गलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा कुल ९ लाख ८ हजार ५ सय ३३ मतदाता रहेको कर्णाली प्रदेशमा विभिन्न राजनीतिक दलका तर्फबाट तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकारी लाल बहादुर गुरुङ्गले जनाएका छन् ।

गुरुङ्गका अनुसार सुर्खेत जिल्ला निर्वाचन क्षेत्र न. १ मा १३ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी दैलेख निर्वाचन क्षेत्र १ मा १० जना र निर्वाचन क्षेत्र २ मा ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यस्तै, जाजरकोटमा ११ जना, सल्यानमा १६ जना, रुकुमपश्चिममा १२ जना र जुम्लामा १० जनाले मनोनयन दर्ता गराएका छन् । कालिकोटमा १४ जना, मुगुमा ७ जना, डोल्पामा ९ जना तथा हुम्लामा ८ जनाले निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया