कर्णालीमा मतगणना जारी, दैलेख–१ र सुर्खेत–२ मा कांग्रेसको अग्रता

सुर्खेत । कर्णाली प्रदेशमा मतगणना जारी रहेको छ । प्रारम्भिक मतपरिणामअनुसार दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापाले अग्रता लिएकी छन् भने जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीको अग्रता कायमै रहेको छ । कालीकोट र सुर्खेत–२ मा पनि मतगणना जारी छ।

दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापाले ६०४ मतसहित अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेका रविन्द्रराज शर्माले ५४९ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ३३१ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अम्मरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन्।

यस्तै, सुर्खेत–२ मा पनि नेपाली कांग्रेसका नारायण कोइरालाले ८२ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका कुलमणि देवकोटाले ७८ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले ७२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटाले ४० मत ल्याएका छन् ।

जुम्लामा हालसम्म १ हजार मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही ५३० मतसहित अग्रस्थान कायम गरिरहेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ४२९ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले ७४ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी बिनिता कठायत र नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले समान २–२ मत प्राप्त गरेका छन्। हालसम्म १ हजार मत गणना भइसकेको र मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कालीकोटमा भने नेकपाका महेन्द्रबहादुर शाही ३ हजार ७६२ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले २ हजार ८०९ मतसहित पछ्याइरहेका छन्। नेकपा एमालेका नगीन्द्र शाहीले २ हजार ५६६ मत ल्याएका छन् भने नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १ हजार ४६२ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले ५१२ मत ल्याएका छन्। कर्णालीका विभिन्न जिल्लामा मतगणना कार्य जारी रहेको र थप परिणाम आउने क्रम जारी रहेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया