सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयले बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरे ।
परिवारका अनुसार इनिसा सोही दिन बिहान “प्राक्टिकल छ, ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् । उनकी आमा तिला विकका अनुसार शनिबार प्राक्टिकल हुने कुरा शंकास्पद लागेपछि उनले सम्बन्धित शिक्षकलाई फोन गरेर बुझ्न खोजेकी थिइन् । “मैले ‘आज शनिबार के प्राक्टिकल छ र तेरो ?’ भनेर शिक्षकलाई फोन गरेँ, तर फोन उठेन,” उनले भनिन्, “त्यसपछि होला त भनेर जान दिएँ ।”
घरबाट निस्कँदा इनिसाले ‘दुई घण्टामा फर्किन्छु मम्मी’ भनेकी थिइन् । उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत थिइन् ।
केही समयपछि शहीद पार्क नजिकको जंगलमा एक किशोरी बेहोस अवस्थामा फेला परेको खबर आएपछि परिवार घटनास्थल पुगेको थियो । “जंगलमा पुग्दा छोरी रक्ताम्मे अवस्थामा थिई, त्यो अवस्था देखेपछि म आफैं बेहोस भएँ, त्यसपछि के भयो थाहा छैन,” आमा तिला विकले भनिन् ।

मृतकका परिवारले इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कर्तव्य ज्यान र जबरजस्ती करणीको उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार उजुरीका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार फागुन २३ गते एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको र थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
यसैबीच, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् । मंगलबार इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै माग गरेका हुन् ।
उनीहरूले अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा भएको यो घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष, गहन तथा शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई छिटो न्याय दिलाउन माग गरेका छन् ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त तथा स्थानीयवासीले बुधबार प्रदर्शनसमेत गरेका छन् । उनीहरूले खबरदारी ¥याली निकाल्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले पीडित परिवारलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। उनीहरूले छानबिन प्रक्रिया निष्पक्ष, पारदर्शी र द्रुतगतिमा अघि बढाउन माग गर्दै घटनाबारे सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा समेत ध्यानाकर्षणपत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले घटनाको निष्पक्ष छानबिन भइरहेको जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश उपाध्यायले कानुन बमोजिम अनुसन्धान अघि बढिरहेको र पीडित परिवारलाई न्याय दिलाउन प्रशासन प्रतिबद्ध रहेको बताए ।
यसैबीच प्रहरीले घटनाको थप स्पष्टता ल्याउन पुनः पोस्टमार्टम तथा विस्तृत अनुसन्धानका लागि नेपालगञ्जस्थित भेरी अस्पतालबाट तीन जना विशेषज्ञ चिकित्सकको टोली सुर्खेत बोलाइएको जनाएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ जारी रहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २७ गते बुधवार