अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वअध्यक्ष सम्मान कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेत महिला जेसीज वर्ष २०२५ को आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

सम्मानित अध्यक्षहरूले संस्थाको विकासमा पुर्‍याएको भूमिका र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा सुझाव प्रस्तुत गरेका छन्।

पूर्वअध्यक्षहरूले सुर्खेत महिला जेसीजले महिलाको सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व वहन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थालाई अझ सशक्त रूपमा अघि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थामा संस्थापक अध्यक्ष सीमा चन्दले महिला सशक्तीकरणका लागि जेसीजको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाका पूर्व नेतृत्वकर्ताहरूको अनुभवबाट अहिलेको नेतृत्वले सिक्नुपर्ने आवश्यकता रहेको बताइन ।

सुर्खेत महिला जेसीज वर्ष २०२५ कि अध्यक्ष कमला बस्याल देवकोटाले महिला सशक्तीकरणका लागि संस्थाले गर्दै आएका कार्यहरूलाई निरन्तरता दिने बताउँदै पूर्वअध्यक्षहरूको योगदान र मार्गदर्शन सदैव प्रेरणादायी रहने धारणा राखिन्।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, तथा विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया