सुर्खेत । अविरल वर्षासँगै आएको पहिरोले कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
कालिकोटको पचालझरना गाउँपालिका–८ जारकोटमा खसेको ठूलो पहिरोका कारण सुर्खेत–हुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। ठूला ढुंगासहितको पहिरो हटाउन डोजरको प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिएका छन्।
त्यस्तै, सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ धारापानीमा पहिरो खस्दा जाजरकोट सडकखण्ड समेत पूर्णरूपमा अवरुद्ध भएको छ। ठूलो डोजर ल्याएर पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।
खुलाइएको सडकमध्ये सल्यानकै कपुरकोट गाउँपालिका–३ मा खसेको पहिरो हटाइसकेकाले त्यहाँ यातायात आवागमन सामान्य भएको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ।
यसैबीच, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ पितृवाङ खोलामा आएको बाढीले अवरुद्ध पारेको राप्ती राजमार्ग पनि सञ्चालनमा आएको डिएसपी प्रमेश विष्टले जानकारी दिए।
उनका अनुसार चैत २६ गते त्रिवेणी गाउँपालिका–८ पेउघामा चट्याङ लागेर घाइते भएकी ३८ वर्षीया जयकला खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २७ गते बिहिवार