काठमाडौँ। ‘वैशाख महिना : खोप महिना’ अभियान सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षभन्दा कम उमेरका नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइदिन अभिभावकहरूलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार नियमित दिनुपर्ने नौ प्रकारका खोपमध्ये कुनै छुटेको भएमा बालबालिका पाँच वर्ष नपुगेसम्म तिनलाई लगाउन सकिने भएकाले छुटेका खोप ढिला नगरी लगाइदिन आग्रह गरिएको हो। खोपले दादुरा, गलघाँटी, रुवेला, झोलाजरोजस्ता रोगबाट बालबालिकाको ज्यान जोगाउँछ र उनीहरूलाई स्वस्थ जीवनतर्फ डो-याउँछ।
यससँगै, मन्त्रालयले आउँदो शनिवार (वैशाख ६) र आइतवार (वैशाख ७) देशभरका ६ महिना देखी ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।
दुई दिने यो अभियानमा करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ। साथै, ६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त ‘बाल भिटा’ आहार पनि दिइनेछ।
मन्त्रालयले अभिभावकहरूलाई आफ्नो नजिकको खोप केन्द्रमा पुगेर खोप, भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ३ गते बुधवार