हुम्लामा अत्यधिक वर्षा: बाढीपहिरोले घरगोठ भत्किए, करिब १०० भेडाबाख्राको मृत्यु

हुम्ला। हुम्लामा बिहीबार बिहान परेको भारी वर्षापछि अदानचुली गाउँपालिका २ र ३ मा बाढी र पहिरो जाँदा दर्जनौं घर र गोठमा क्षति पुगेको छ। साथै करिब १०० भेडाबाख्राको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहानको केही घण्टा लगातार परेको तीव्र वर्षापछि गाउँमा बाढी र पहिरो आएको हो। आज बिहान अदानचुली २ र ३ मा परेको ठुलो वर्षातका कारण केही घरहरूमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी आएको र क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।

वर्षाले वडा नम्बर २ र ३ को सीमास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा समेत क्षति पुर्‍याएको छ। गोदाममा रहेको चामल सुरक्षित स्थानमा सारिए पनि तल्लो तल्लामा रहेका बोरा भने भिजेका छन्।

अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार बाढीपहिरोले करिब १०० भेडाबाख्रा मरेका छन्। केही घरहरू बस्नै नमिल्ने गरी भत्किएका छन् साथै पसलहरूमा पनि क्षति पुगेको छ उनले बताए। अध्यक्ष सिंहका अनुसार गाउँपालिकाको कार्यालय समेत पहिरोको जोखिममा परेको छ।

वडा नम्बर २ का अध्यक्ष नन्द महताराका अनुसार फडेरा र भण्डारी गाउँमा बढी क्षति पुगेको छ।

स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गरिरहेको र पीडित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया