जेनजी आन्दोलन ः वीरेन्द्रनगरमा पार्टी कार्यालयदेखि सरकारी–निजी संरचनामा ठूलो क्षति, कफ्र्यू जारी

सुर्खेत । सोमबारदेखि जारी जेनजी आन्दोलनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दलका कार्यालयदेखि सरकारी र निजी भवनहरुमा क्षति पु¥याएको छ । सडकमा नारा लगाउदै हिंड्ने जेनजीहरुका भिडले पार्टी कार्यालयदेखि सरकारी भवन र नेताहरूका निजी घरसम्मलाई निशाना बनायो । वीरेन्द्रनगर आगोको धुँवा र भत्किएका भवनमा परिणत भयो ।

सोमबार नाराजुलुस गरि घर फर्किएको जेनजी समुह मंगलबार भने बिहानैदेखि वीरेन्द्रनगरका सडक, कर्णाली प्रदेशसभा भवन र मुख्यमन्त्रीको सरकारी निवास वरिपरि विरोध प्रदर्शन गर्न थाले । बिहान ११ बजे सम्म सडकमा नारा लगाइरहेको जेनजी समुहको ध्यान राजनीतिक दलका कार्यालयतर्फ मोडियो । सुरुमा जेनजी समुह नारा लगाउदै हटिया चोकस्थित नेकपा एमाले पार्टि कार्यालय अगाडि पुग्यो र कार्यालयमा ढुंगा हान्न सुरु गर्यो । सुरक्षाकर्मीले भिड रोक्न प्रयास गरे पनि असफल बने पछि भने पछि हट्यो । आन्दोलनकारीहरुले नेकपा एमालेको कार्यालय कब्जा गर्दै भवनभित्र रहेका सम्पूर्ण कागजात सडकमा फालेर आगजनी गरे ।

यत्तिकैमा नरोकिएर उनीहरूले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयलाई कब्जामा लिएर तोडफोड र आगजनी गरे । पार्टी कार्यालयहरु नष्ट भएपछि उनीहरूको गति वीरेन्द्रनगर नगरपालिकाको भवनतर्फ मोडियो । नगरपालिकामा कडा सुरक्षा हुँदाहुँदै पनि प्रहरीले नियन्त्रणमा लिन असफल भयो । नगरपालिकाको भवनमा समेत आगजनी र तोडफोड भयो ।

त्यसपछि उनिहरुले कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड, सुर्खेत उपत्यका खानेपानी कार्यालयमा आगजनी, सरकारी वकिल कार्यालयको गाडिमा आगजनी, प्रदेश लेखा नियन्त्रकको कार्यालय तोडफोड, नापी कार्यालयमा तोडफोड तथा आगजनी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगायत सरकारी निकायहरुमा तोडफोड र आगजनी गरे । कर्णाली प्रदेशसभाको भवनमा समेत तोडफोड तथा आगजनी गरे ।

यससगैं, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको सरकारी र निजी निवासमा पनि आगजनी गरे । वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालका घरमा पनि भिडले तोडफोड तथा आगजनी गरि क्षति पु¥यायो । यस्तै, नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्का र डा. डम्बर खड्काको निजी निवासमा पनि आगजनी र तोडफोड गरे ।

यतिखेर सम्म वीरेन्द्रनगरमा ठुलो क्षति भइसकेको थियो । भिड सुरक्षाकर्मीको नियन्त्रण बाहिर भएपछि भने जिल्ला प्रशासन कार्यालय सुर्खेतले बेलुका ४ः३० देखि लागुहुने गरि कफ््यू जारी गर्यो । कफ्यू जारी पछि पनि आन्दोलन तोडफोड, आगजनी भने रोकिएन । कफ्यू पछि पनि सार्वजनिक संरचनामध्ये वीरेन्द्रनगरको सिटीहल, वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का वडा कार्यालय भवन तोडफोड तथा आगजनीमा गरे ।

जेनजी समुहले सार्वजनिक कार्यालय र निजी संरचना मात्रै होइन, स्थानीय व्यवसायलाई पनि निशानामा पारे । वीरेन्द्रनगरको माया पेट्रोल पम्पमा आन्दोलनकारीले तोडफोड गरे । पम्पभित्रका उपकरण र काउन्टर नष्ट बनाए । सुरक्षाकर्मीको उपस्थिति भए पनि आन्दोलन नियन्त्रणमा लिन नसक्दा सरकारी कागजातदेखि भौतिक सम्पत्तिसम्म नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजगं बुढथापाका अनुसार भिड नियन्त्रण गर्न सुरक्षाकर्मी खटिएको भएतापनि नियन्त्रण गर्न नसकेको बताए । उनले भने, “आन्दोलनकारीको संख्या धेरै र उग्र थियो, बल प्रयोग गर्दा ठूलो दुर्घटना हुने सम्भावना थियो, त्यसैले भिड हाम्रो नियन्त्रण भन्दा बाहिर गयो ।”  साथै, डिएसपी बुढ्थापाले आन्दोलनका क्रममा कसैको पनि मृत्यु नभएको जनाए । उनले आन्दोलनकारी र सुरक्षाकर्मी सामान्य घाइते भएका जनाए । उनीहरूको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ ।

स्थानीयवासी कृष्ण खत्रीले जेनजी आन्दोलन पछाडिको कारण युवाहरूको लामो समयदेखिको बढ्दो असन्तुष्टि हुन सक्ने बताउछन् । उनले रोजगारीको अभाव, अवसर नपाउनु, दलहरूमा भ्रष्टाचार र सत्ता संघर्षप्रति आक्रोशले उनीहरूलाई सडकमा उत्राएको हुनसक्ने बताए ।  आज बुधबार नेपाली सेना सडकमा परिचालन भएपछि भने वीरेन्द्रनगरको अवस्था सामान्य रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया