सुर्खेत । जाजरकोट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । पहिलोपटक संसदीय चुनावमा होमिएका बुढाले २० हजार १४२ मत प्राप्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पछि पार्दै जित हात पारेका हुन् । बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंह १६ हजार ८८३ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन् । जाजरकोटमा कुल १ लाख ८ हजार ४७९ मतदाता रहेकामा ६१ हजार ६५७ मत खसेको थियो ।
यसअघिका तीन निर्वाचन जित्दै ‘ह्याट्रिक’ गरेका बस्नेत चौथोपटक संसदमा पुग्ने योजनासहित मैदानमा उत्रिएका थिए । तर यसपटक भने कांग्रेसका नयाँ अनुहार बुढासँग पराजित हुँदै उनको निरन्तर जितको यात्रामा ब्रेक लागेको छ ।
नवनिर्वाचित सांसद बुढा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०५३ सालमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका उनी २०६३ मा नेविसंघ जाजरकोट जिल्ला सचिव बनेका थिए । २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति बनेका बुढा २०६७ मा नेपाली कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधि हुँदा खुल्लातर्फ देशकै कान्छा प्रतिनिधि बनेका थिए ।
२०७३ सालमा सम्पन्न १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव बनेका उनी २०७८ मा भएको १४औँ महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भए । २०७९ सालदेखि हालसम्म उनी नेपाली कांग्रेस जाजरकोटको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा उनले शिवालय गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । यसपटक भने पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेरै विजयी भएका छन् ।
यता, उनका प्रतिस्पर्धी बस्नेत भने सशस्त्र जनयुद्धकालदेखि माओवादी राजनीतिमा प्रभावशाली नेता मानिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर बस्नेत २०४६ सालको जनआन्दोलनमा नेकपा एकता केन्द्र (मशाल) बाट सक्रिय भएका थिए । २०४८ मा एकता केन्द्र (मशाल) को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य बनेका उनी २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी भए । २०५१ देखि नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यका रूपमा ग्रामीण वर्गसंघर्षको नेतृत्व गरेका बस्नेत २०५५ मा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य बने । त्यसको दुई वर्षपछि केन्द्रीय सदस्य र भेरी–कर्णाली क्षेत्रीय ब्यूरो इञ्चार्जको जिम्मेवारी पाए ।
२०५९ मा पोलिटब्यूरो सदस्य भएपछि उनी भेरी–कर्णाली र थारूवान क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिकामा रहे । जनमुक्ति सेनाको डिभिजन कमिसारसमेत भएका उनले गण्डकी ब्यूरोको नेतृत्व पनि गरेका थिए । २०७१ मा माओवादीको स्थायी कमिटी सदस्य बनेका बस्नेत आठौँ महाधिवेशनबाट उपमहासचिव चुनिएका थिए । जाजरकोटबाट पार्टीको शीर्ष नेतृत्व तहमा पुग्ने पहिलो नेता पनि उनी नै हुन् ।
बस्नेत २०६४ मा समानुपातिकतर्फबाट पहिलो संविधानसभामा पुगेका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुँदै गृहमन्त्री बने । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०७९ सालको निर्वाचनमा पनि सत्ता गठबन्धनको समर्थनमा विजयी हुँदै ‘ह्याट्रिक’ गरेका बस्नेतलाई यसपटक भने नयाँ प्रतिस्पर्धी बुढाले पराजित गरेका छन् ।
गत निर्वाचनमा बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत ल्याएका थिए ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जाजरकोटका सात पालिकामध्ये कांग्रेस र एमालेले तीन–तीन प्रमुख जितेका थिए भने माओवादीले एक मात्र पालिका प्रमुख जितेको थियो । उपप्रमुखतर्फ कांग्रेस र माओवादीले तीन–तीन तथा एमालेले एक पद जितेका थिए ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २३ गते शनिवार