काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ।
निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाएको छ। समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि उम्मेदवारहरूलाई मनोनयन फारम वितरण थालिएको हो।
महाधिवेशन प्रतिनिधिहरूको नामावली सभागृह परिसरमा सार्वजनिक गरिएको छ। उम्मेदवारी दर्ता गर्न इच्छुक व्यक्तिले निर्धारित शुल्क बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार आज दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। कांग्रेसको नयाँ नेतृत्व चयनमा ७ हजार ११४ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकारसमेत विस्तार गरेको छ। संशोधित विधानअनुसार अब केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। यसअघि १६७ सदस्यीय रहेको केन्द्रीय समिति १३० सदस्यले विस्तार गरिएको हो।
पदाधिकारीको संख्यासमेत बढाइएको छ। अब एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था गरिएको छ भने उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ, जसमा कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, दुई खुला सहमहामन्त्रीको पद थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
कांग्रेसले प्रतिनिधित्वलाई थप समावेशी बनाउने उद्देश्यसहित केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या बढाइएको जनाएको छ। नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्तासँगै महाधिवेशनको निर्वाचन प्रक्रिया थप प्रतिस्पर्धात्मक बनेको छ।

फ्याक्ट सञ्चार । २०८३ असोज २० गते मङ्गलवार