सुर्खेत । कर्णाली प्रदेशको चौथौ मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली संसदिय दलका नेता यामलाल कंडेल नियुक्त भएका छन् ।
कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरे संगै प्रदेश प्रमुख तिलक परियारले कंडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कंडेलको पद तथा गोपनियताको सपथ भने भोली लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख तिलक परियार समक्ष एमाले–माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए । यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गरेका थिए ।
२०१८ साल कात्तिक २५ गते गुराँस गाउँपालिका वडा नम्वर ४ गाईबान्ना दैलेखमा जन्मिएका नव नियुक्त मुख्यमन्त्री कँडेल वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ भैरवस्थानमा बस्दै र्आएका छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक गरेका छन् । २०३६ सालमा सुर्खेतको दशरथपुरमा पंचायती शासक विरुद्ध किसान आन्दोलन पश्चात राजनितिमा सक्रिय बन्दै र्आएका थिए ।
२०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यस अघिका मुख्यमन्त्री राज कुमार शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उनले राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठवन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि सरकारको नेतृत्वसहित सरकारमा गएको होे । उति बेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए भने भने एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २७ गते मङ्गलवार