सुर्खेत । सुर्खेतको लेकवेशीमा एक दिने निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इनरह्वील क्लब अफ सुर्खेत भ्याली र लायन्स क्लब अफ सुनगाभाको आयोजना तथा लेकवेशी नगरपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो ।
सुर्खेतको लेकवेशी नगरपालिका–३, ब्यावरेमा बुधबार भएको शिविरमा १४२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका लागि आएका अधिकांश महिलामा कुनै न कुनै प्रजनन् स्वास्थ्य समस्या देखिएको छ ।
स्वास्थ्य परिक्षण गराएका अधिकांश महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने तथा प्रसव फिस्टुलाका साथै प्रजननसँग सम्बन्धित समस्या देखिएको शिविरमा सहभागी स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल नर्सिङ प्रशासक दिपा भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार शिविरमा महिलामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार गरिएको थियो । भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
‘हामीले औषधी राखेर गर्ने परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ’, भट्टराईले भनिन्, ‘परीक्षणबाट पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।’
भिआइए परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र उनीहरूको थर्मो कगुलेशन विधिद्वारा उपचार गरिएको नर्सिङ प्रशासक भट्टराईले जानकारी दिइन् । उनका अनुसार शिविरमा परीक्षण गराएका ७० प्रतिशत महिलाहरूमा प्रजनन स्वास्थ्य समस्या देखिएको छ ।
स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
गम्भीर समस्या देखिएका महिलाहरूलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि रिफर गरिएको नर्सिङ प्रशासक भट्टराईले बताइन् ।
शिविरमा आङ खस्ने समस्या भई जटिल उपचार गर्नुपर्ने दुई जना भेटिएका थिए । उनिहरुमध्य एक जनालाई रिङ प्रेसरी लगाएको छ भने र अर्को एक जनाको फोर्थ डिग्री पाठेघर खसेको हुँदा शल्यक्रियाका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको भट्टराइले बताइन् ।
केही महिलाहरूमा आङ खसेको शल्यक्रिया गरिसकेपछि भल्ट प्रोल्याबस भएर रिफर गरिएको छ । २ जना महिलामा स्तनसँग समस्या देखिएकाले थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएको छ ।अन्य प्रजनन स्वास्थ्यसँग सम्बिन्धीत सङ्क्रमण देखिएका र पिसाब थैलीसँग सम्बन्धित समस्या भएका महिलाहरूलाई आवश्यक उपचार र परामर्श गरिएको शिविरमा सहभागी अनमी निरीक्षक सिता शर्माले बताइन् ।
जटिल र उपचारमा महँगो रोग क्यान्सरको रोकथाम र उपचारको शिविर सञ्चालन हुँदा ठुलो सङ्ख्यामा स्थानीय महिला प्रत्यक्ष लाभान्वित हुने अवसर पाएको लेकवेशीका स्थानीय अगुवा कृष्ण खत्रीले बताए ।
जिल्लाका ग्रामीण भेगका महिलाहरू प्रजननसँग सम्बन्धित जटिल स्वास्थ्य समस्या रहेको थाहा पाएपछि भिआइए विधिद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको इनरह्वील क्लब अफ सुर्खेत भ्यालीकी संस्थापक अध्यक्ष सिया कार्की प्रधानले जानकारी दिइन् ।
पाठेघरको मुखको क्यान्सरमा हुने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले भिआइए परीक्षण मेसिन नै गाउँमै लगेर शिविर सञ्चालन गरिएको कार्कीले बताइन् ।
फ्याक्ट सञ्चार । २०८२ असार १२ गते बिहिवार