वीरेन्द्रनगर जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर जेसीजले सप्ताह व्यापी कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

हरेक वर्ष जेसीजको महत्त्वपूर्ण पर्वको रुपमा हर्षोल्लासका साथ मनाउदै आएको जेसीज सप्ताह
वीरेन्द्रनगर जेसीजले यो वर्ष पनि सम्पन्न गरेको हो ।

मङ्सिर २० गते मानवसेवा आश्रम सुर्खेतको भवन निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा स्थल सरसफाइ कार्यक्रमबाट सुरुवात गरेको हो ।

वीरेन्द्रनगर जेसीजको सप्ताहव्यापी कार्यक्रम क्रमश : महायज्ञमा सहयोग हस्तान्तरण, ट्राफिक सचेतना, रक्तदान कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका भित्र सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीलाई ” Find your Better Career Pathway” नामक मोटिभेशनल सेसन,”पर्यावरण संरक्षणमा युवा नेतृत्व” बिषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम र पुरस्कार वितरण लगायतका कार्यक्रम गरि मनाएको छ ।


मसिंर २० देखी सुरु भएको जेसीज सप्ताह मसिंर २८ गते सम्पन्न भएको हो ।

मोटिभेशनल शेसन कार्यक्रम एकदमै प्रभावकारी कार्यक्रम रहेको र यो कार्यक्रमद्वारा युवामा सकारात्मक सोच विकासको निमित्त वीरेन्द्रनगर जेसीजले खेलेको भुमिकालाई वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले र वीरेन्द्रनगर जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसीज २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्र प्रसाद दहाल लगाएतले प्रसंसा गरेका थिए ।

वक्तृत्व कला कार्यक्रममा वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव एवं वर्ष १९८० का अध्यक्ष शम्भु पन्तले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा वीरेन्द्रनगर जेसीजले आयोजना गरेका कार्यक्रमहरु निकै प्रभावकारी भएको बताए ।

यस्तै, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सीता कुमारी भण्डारीले युवा जागणले मात्र सभ्य समाज निर्माण हुने भएकोले त्यसको नेतृत्व जेसीजले लिनुपर्ने धारणा राखेकी छिन् ।

यता, वीरेन्द्रनगर जेसीज वर्ष २०२४ का अध्यक्ष हिक्मत सापकोटाले युवा पुस्ताको प्रतिभा प्रष्फुटन गरी उनिहरुको ज्ञान र सिपलाई स्वदेशमा प्रयोग गर्न सकेमा मात्र समृद्ध राष्ट्र निर्माणको परिकल्पनाले सार्थकता पाउने र त्यसको लागि वीरेन्द्रनगर जेसीज हरदम अग्र स्थानमा उभिन तयार रहेको बताउदै सम्पुर्णलाई सहकार्यको निमित्त अपिल गरेका छ्न्।




फेसबुकबाट तपाईको प्रतिक्रिया