सुर्खेत । प्रजातान्त्रिक प्राध्यापक संघ, मध्यपश्चिम विश्वविद्यालय समितिले उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमलाई १६ बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम दिएको छ।
आइतबार संघले बुझाएको ज्ञापनपत्रमा माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।
संघले उपकुलपतिले कार्यकारी परिषद सदस्य नियुक्तिका लागि गरेको एकलौटी सिफारिस खारेज गर्नुपर्ने प्रमुख माग राखेको छ। गत चैत २२ गते कार्यकारी परिषद बैठकले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणनाथ योगीलाई सदस्यमा सिफारिस गरेको थियो। योगी एमाले निकट शिक्षक हुन्।
परिषदमा उपकुलपति अध्यक्ष रहने व्यवस्था छ भने डीनको तर्फबाट लिलाधर तिवारी र शिक्षकको तर्फबाट योगी सिफारिस भइसकेका छन्। रजिष्ट्रार प्रा. डा. शोभाखर कडेलमात्र कांग्रेस निकट छन्। यदि सिफारिस पारित भयो भने चार सदस्यीय कार्यकारी परिषदमा तीन जना एमाले निकट हुने स्थिति आउँछ।
प्राध्यापक संघले लामो समयदेखि आम्शिक र करार शिक्षकहरूको सेवा सुरक्षाको माग गर्दै आएको छ। साथै, समायोजित आङिक क्याम्पसका शिक्षकहरूलाई सेवा आयोगमार्फत स्थायित्व दिनुपर्ने माग पनि उठाएको छ। संघले विश्वविद्यालय प्रशासनले शिक्षकमाथि गरिरहेको बेवास्ता र राजनीतिक भागबण्डाको अन्त्य गर्न चेतावनी दिएको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ८ गते सोमवार