महिला दिवसमा कानुनी साक्षरता तालिम सम्पन्न, दृष्टिविहीन छात्रालाई छात्रवृत्ति

सुर्खेत । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्खेत महिला जेसीजले आयोजना गरेको महिलाहरूका लागि कानुनी साक्षरता तालिम सम्पन्न भएको छ । कार्यक्रममा दृष्टिविहीन छात्राहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ।

तालिममा वीरेन्द्रनगर नगरपालिका–६ का विभिन्न टोलका महिलाहरू, सुर्खेत महिला जेसीजका बोर्ड सदस्य, पदाधिकारी तथा पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरूलाई आधारभूत कानुनी अधिकार, महिला अधिकार तथा सामाजिक न्यायसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमका प्रशिक्षक जेसीआई सिनेटर तथा अधिवक्ता अनिल बहादुर शाही रहेका थिए । उनले महिलाहरूलाई आफ्नो अधिकारबारे सचेत रहन, कानुनी ज्ञान बढाउन तथा अन्यायका विरुद्ध आवाज उठाउन कानुनी साक्षरता अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

यसै अवसरमा अमेरिकामा बसोबास गर्दै आउनुभएकी कमला खाँडले सुर्खेत महिला जेसीजलाई २९ हजार रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् । उक्त सहयोग रकममध्ये १५ हजार रुपैयाँ वीरेन्द्रनगरस्थित श्री संस्कृत तथा साधारण माध्यमिक विद्यालय, इत्राममा अध्ययनरत दृष्टिविहीन छात्राहरूलाई छात्रवृत्तिका रूपमा प्रदान गरिएको हो । बाँकी रकम भने महिला कानुनी साक्षरता तालिम सञ्चालनमा खर्च गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ।

कार्यक्रममा दृष्टिविहीन छात्राहरू, स्थानीय महिलाहरू, सुर्खेत महिला जेसीजका बोर्ड तथा पदाधिकारीहरू र पूर्व अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया