“मायाले त होला”

बसन्ती शाही

तिमीसंग बाझ्नु, झगडिनु अनि नबोली बस्नु,
तिम्रो बाटो हेर्नु, ढुकी बस्नु अनि कुरी बस्नु,
टाढा हुँदा सम्झिनु, अत्यासीनु अनि नियास्रिनु,
टोलाउनु अनि आँसु झार्नु,
मायाले त होला माया, मायाले त होला ।

तिमीसंगका यादहरु अनि बातहरु,
तिमीेले पस्किएका मायाका खातहरु,
सामिप्यताले लुटिएका रातहरु,
अनि साथहरु, यो सबै सबै प्यारो लाग्ने,
मायाले त होला माया, मायाले त होला ।

तिमीसंग छुट्दाको बेचैन मन,
तिम्रो सम्झनामा तड्पीएको ब्याकुल तन,
लामा काला रातमा एक्लै गुजारीएको सून्य पन,
सबै सबै भा….री र चोटीलो हुनु,
मायाले त होला माया, मायाले त होला ।

एक्लै हुँदा अंधेरी रातसंग याद साट्नु,
जुनेलीमा समृद्धी र शान्ति बाँड्नु,
प्रगती र उन्नतीको लामो कामना गर्नु,
एउटा आँखामा आशा र अर्काेमा माया बहाउनु,
मायाले त होला माया, मायाले त होला ।

तिमी उड्ने पन्छी र फिरन्ते बटुवा समाजको,
म पाटी, धर्मशाला, थकान, ऐस, आरामको,
तिम्रो आगमनको मिती कुर्दै,
प…र प…र सम्म आँखा कुदाउँदै, अटल कुरीरहनु,
मायाले त होला माया, मायाले त होला ।

सत्कर्म निरन्तर रहे सुकुन पनि रहला ।
कहाँ हुन्छ र बैगुन मायामा, मायै बहला ।।
धैर्यता, निश्कपट र निश्कलंक सदा बन,
यस्तै प्रगति र सुस्वास्थको कामना गर्नु,
मायाले त होला माया, मायाले त होला ।




फेसबुकबाट तपाईको प्रतिक्रिया