फेसबुक लगायतका सञ्जाल दर्ता नभए प्रतिबन्ध लाग्ने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्ल्याटफर्महरूले मुलुकको कानुन मान्नैपर्ने बताए। “सरकारले दिएको समयसीमा सकिन केही दिन मात्र बाँकी छ, तर अहिलेसम्म कसैले दर्ताको प्रक्रिया अघि बढाएका छैनन्,” उनले गुनासो गरे।

गुरुङले नेपालमा लागू गरिन लागेको सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै माध्यमलाई बन्द गर्न नभई नियमन गर्न ल्याइएको बताए। “सरकारलाई टेर्दैनन्, दुई–तीन दिनमै म्याद सकिन्छ, तर कोही आउँदैन,” मन्त्री गुरुङको भनाइ थियो।

त्यसैगरी, उनले चैत्र १५ गते काठमाडौंमा राजावादीले आयोजना गरेको प्रदर्शन संविधानविपरीत र प्रतिगामी भएको टिप्पणी गरे। “शान्तिपूर्ण प्रदर्शनको नाममा हिंसा र संविधान उल्लंघन गर्नु अनुचित हो,” मन्त्री गुरुङले भने, “उक्त घटनामा संलग्नहरू कानुनी कारबाहीमा पर्न सक्छन्।”

प्रविधिको दुरुपयोगमार्फत मुलुक, राजनीतिक दल र जनतालाई कमजोर पार्ने गतिविधि बढेको भन्दै सरकार गम्भीर रूपमा त्यसको रोकथाममा लागेको उनले स्पष्ट पारे।

सोही अवसरमा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरिएको थियो। सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मा तथा स्व. उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया