लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा कर्णाली रेडक्रसको ऐक्यवद्धता हस्ताक्षर कार्यक्रम सम्पन्न

सुर्खेत । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ऐक्यवद्धता हस्ताक्षर अभियान सञ्चालन गरेको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारा र अन्तर्राष्ट्रिय नारालाई आत्मसात् गर्दै रेडक्रसले यसवर्ष पनि जनचेतनामूलक कार्यक्रमहरू सशक्त रूपमा अघि बढाएको हो ।

कार्यक्रम कार्यसमिति अध्यक्ष लिलाराम सुवेदीको हस्ताक्षरबाट औपचारिक रूपमा सुरु भएको थियो । यससगैं कार्यालयका कार्यक्रम प्रमुख राजकुमार क्षेत्री, लेखा प्रमुख अमुल्य वैष, सूचना अधिकारी रेशम बहादुर खड्का सहित सबै कर्मचारीहरूले हस्ताक्षर गर्दै अभियानप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गरे ।

अभियान अवधिभर कार्यालयमा आएका आगन्तुक, सेवाग्राही तथा विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको रेडक्रसले जनाएको छ । १६ दिनसम्म सञ्चालन गरिएको हस्ताक्षर अभियानमा करिब ३ सय बढी सहभागीले लैङ्गिक हिंसा रोकथाम, डिजिटल सुरक्षित व्यवहार तथा अनलाइन दुव्र्यवहार अन्त्य गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

रेडकसका अनुसार अभियानले विशेषगरी डिजिटल माध्यमबाट हुने हिंसा, अनलाइन दुर्व्यवहार, साइबर–हैरानी र प्रविधिको दुरुपयोगबाट महिलाहरू झेल्नुपर्ने जोखिमबारे जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । सहभागीहरूले प्रविधिको सकारात्मक, सुरक्षित र जिम्मेवार प्रयोगले मात्र महिलाहरू र किशोरीहरू सम्मानजनक र सुरक्षित वातावरणमा बस्न सक्षम हुने संदेश दिएको कार्यालयले जनाएको छ ।

अभियानमार्फत लैङ्गिक समानता, सुरक्षित डिजिटल व्यवहार र हिंसा–मुक्त समाज निर्माणका लागि सामूहिक प्रतिवद्धता अझ प्रबल बन्दै गएको आयोजकको भनाइ छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया